काठमाडौं, साउन ११। तामाङ समुदायको भाषा, कला, संस्कृति, इतिहास तथा विशिष्ट व्यक्तित्वहरूको जीवनभोगाइलाई भावी पुस्ताका लागि अभिलेखीकरण गर्ने उद्देश्यले प्रकाशित “म्हेन्दोलाफोले : सय व्यक्तित्व, सय कथा ” पुस्तकको लोकार्पण समारोह सोमबार काठमाडौंस्थित राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान), जमलमा भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ।
म्हेन्दोलाफोले फाउण्डेशनद्वारा आयोजित उक्त समारोहमा तामाङ समुदायका अग्रज व्यक्तित्व, राजनीतिज्ञ, साहित्यकार, लेखक, सञ्चारकर्मी, कलाकार, शिक्षाविद्, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पुस्तकमा समावेश भएका सय विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा नेपाल तामाङ घेदुङका सचिव हिरालाल दोङले गर्नुभएको थियो भने म्हेन्दोलाफोले फाउण्डेशनका सदस्य कोमल लामाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा महानुभावहरूलाई स्वागत गर्नुभएको थियो। उहाँले “म्हेन्दोलाफोले” अभियानको उद्देश्य र यस पुस्तकले भाषा, कला, संस्कृति तथा इतिहास संरक्षणमा पुर्याउने योगदानबारे संक्षिप्त रूपमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ सञ्चारकर्मी, अभियन्ता तथा पुस्तकका सम्पादक एवं संवाददाता प्रतिक तामाङ ङ्यासुरले “म्हेन्दोलाफोले” पोडकास्टमा भएका संवादहरू केवल समय बितेसँगै हराएर जाने सामग्री नभई समाजको जीवित इतिहास भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता संवादहरूलाई अडियो वा भिडियो माध्यममा मात्र सीमित नराखी पुस्तकका रूपमा अभिलेखीकरण गर्नुपर्ने अवधारणा त्यहीँबाट जन्मिएको बताउँदै, प्रत्येक व्यक्तित्वको जीवनभोगाइ, संघर्ष, अनुभव र विचारलाई पुस्तौँसम्म सुरक्षित राख्न सकियो भने त्यो समुदायका लागि अमूल्य सम्पत्ति बन्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार आज प्रकाशित यो कृति त्यही सोचको मूर्त रूप हो।
म्हेन्दोलाफोले फाउण्डेशनका अध्यक्ष सुनिल लामाले पुस्तकको महत्वमाथि प्रकाश पार्दै “म्हेन्दोलाफोले” अभियानको यात्रा टेलिभिजन कार्यक्रमबाट सुरु भई आज पोडकास्ट, फाउण्डेशन र पुस्तकसम्म आइपुगेको उल्लेख गर्नुभयो। उहाँले यो पुस्तक केवल सयवटा अन्तर्वार्ताको सङ्ग्रह नभई समाजका विशिष्ट व्यक्तित्वहरूको अनुभव, संघर्ष, विचार र योगदानलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने ऐतिहासिक दस्तावेज भएको बताउनुभयो। साथै, पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम म्हेन्दोलाफोले फाउण्डेशनमार्फत सामाजिक, शैक्षिक तथा सांस्कृतिक सेवामूलक कार्य, विशेषगरी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको शिक्षामा सहयोग, www.mhendolafole.org अन्तर्गत निर्माण भइरहेको Tamang Database को विकास तथा तामाङ भाषा, कला, संस्कृति र इतिहासको संरक्षण तथा अभिलेखीकरणमा खर्च गरिने जानकारी दिनुभयो।
मन्तव्यकै क्रममा लेखक, संस्कृतिकर्मी तथा अभियन्ता रबिन्द्र तामाङले अबदेखि पोडकास्टमा सहभागी हुने प्रत्येक व्यक्तित्वले आफ्ना जीवनका यथार्थ अनुभवहरू निसंकोच रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। यस्ता संवादहरू भविष्यमा पुस्तकका रूपमा पनि अभिलेखीकरण हुने भएकाले सत्य, मौलिकता र जिम्मेवार अभिव्यक्तिको महत्व अझ बढेको उहाँको भनाइ थियो।
मानवशास्त्री डा.मुक्त सिं लामाले यस्ता संवादहरूलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु अत्यन्तै दूरदर्शी र समयसापेक्ष कार्य भएको उल्लेख गर्दै, यस पुस्तकले भावी पुस्तालाई अध्ययन, अनुसन्धान र प्रेरणाको महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष तथा सञ्चारकर्मी सञ्चु ब्लोनले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनकथा र अनुभवलाई एउटै कृतिमा समेट्नु आफैँमा समुदायका लागि महत्वपूर्ण अभिलेखीकरण भएको बताउँदै, यसले भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी तथा नयाँ पुस्ताका लागि मूल्यवान् सन्दर्भ सामग्रीको रूपमा काम गर्ने धारणा व्यक्त गर्नुभयो।
“म्हेन्दोलाफोले : सय व्यक्तित्व, सय कथा ” पुस्तक “म्हेन्दोलाफोले” पोडकास्टका पहिलो एक सय भागमा सहभागी भएका विशिष्ट व्यक्तित्वहरूसँग गरिएका संवादहरूको अभिलेखीकरण हो। यो कृति केवल अन्तर्वार्ताहरूको सङ्ग्रह मात्र होइन, बरु समाजका अग्रज व्यक्तित्वहरूको जीवनसंघर्ष, अनुभव, विचार र योगदानलाई स्थायी रूपमा सुरक्षित राख्ने एउटा महत्वपूर्ण दस्तावेज हो। डिजिटल माध्यममा सीमित रहने यस्ता अमूल्य सामग्रीलाई पुस्तकका रूपमा प्रकाशन गरेर भावी पुस्तालाई अध्ययन, अनुसन्धान, प्रेरणा र आत्मपहिचानको आधार उपलब्ध गराउने उद्देश्य यस कृतिको मूल आत्मा हो।
म्हेन्दोलाफोले फाउण्डेशनले आगामी दिनमा पनि पोडकास्टका १०१ देखि २०० भागसम्मका संवादहरूलाई समेट्दै यस अभियानलाई निरन्तर अघि बढाउने जनाएको छ। फाउण्डेशनका अनुसार “म्हेन्दोलाफोले” अब केवल एउटा टेलिभिजन कार्यक्रम वा पोडकास्टको नाम मात्र नभई भाषा, संस्कृति, इतिहास र पहिचानलाई पुस्तौँसम्म जीवित राख्ने साझा सांस्कृतिक अभियानका रूपमा स्थापित हुँदै गएको छ।



































