काठमाडौं । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति, पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय तीर्थ लामाले म्हेन्दोलाफोले फाउण्डेशनलाई रु. ५० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
म्हेन्दोलाफोले फाउण्डेशनले तामाङ समुदायको भाषा, संस्कृति, इतिहास, शिक्षा, कला, साहित्य तथा सामाजिक पहिचानको संरक्षण, अभिलेखीकरण र प्रवर्द्धनलाई मुख्य कार्यक्षेत्रका रूपमा अघि बढाउँदै आएको छ। फाउण्डेशनले सञ्चालन गर्दै आएको विभिन्न अभियानलाई थप प्रभावकारी बनाउन माननीय लामाबाट उक्त सहयोग प्राप्त भएको हो।
फाउण्डेशनको महत्वपूर्ण अभियानका रूपमा रहेको तामाङ डाटाबेस निर्माण कार्य हाल निरन्तर अघि बढिरहेको छ। तामाङ समुदायसँग सम्बन्धित व्यक्ति, इतिहास, संस्कृति, भाषा, सामाजिक तथा अन्य महत्वपूर्ण तथ्यांकलाई व्यवस्थित रूपमा संकलन, संरक्षण र अभिलेखीकरण गर्दै भविष्यका पुस्ताका लागि उपयोगी डिजिटल स्रोतका रूपमा विकास गर्ने उद्देश्यले डाटाबेस निर्माण भइरहेको फाउण्डेशनले जनाएको छ।
आगामी दिनमा तामाङ डाटाबेसलाई अझ व्यवस्थित, विस्तृत र विश्वसनीय बनाउँदै निरन्तर अद्यावधिक तथा विकास गर्दै लैजाने फाउण्डेशनको योजना रहेको छ। यसका लागि देश तथा विदेशमा रहेका तामाङ समुदायसँग सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालासँग सहकार्य र समन्वयलाई समेत प्राथमिकता दिइने फाउण्डेशनले जनाएको छ।
तामाङ समुदाय केन्द्रित आफ्नो मूल अभियानसँगै म्हेन्दोलाफोले फाउण्डेशनले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै आएको छ। शिक्षा क्षेत्रमा फाउण्डेशनले गर्दै आएका कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने र आवश्यकताअनुसार थप प्रभावकारी बनाउँदै लैजाने लक्ष्य राखेको छ।
त्यसैगरी, फाउण्डेशनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर, सरसफाइ तथा वातावरणसम्बन्धी कार्यक्रम, विपद् तथा आपत्कालीन अवस्थामा राहत वितरण लगायतका सामाजिक सेवाका कार्यहरू पनि गर्दै आएको छ। आवश्यकताअनुसार यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने फाउण्डेशनले जनाएको छ।
म्हेन्दोलाफोले फाउण्डेशनले तामाङ समुदायको इतिहास, पहिचान र ज्ञानलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने उद्देश्यले अभिलेखीकरण र डिजिटल संरक्षणको कार्यलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाइरहेको छ।
यस अभियानमा माननीय तीर्थ लामाबाट प्राप्त रु. ५० हजार सहयोगले फाउण्डेशनका आगामी कार्यहरूलाई थप ऊर्जा र सहयोग पुग्ने फाउण्डेशनले जनाएको छ।
म्हेन्दोलाफोले फाउण्डेशनले सहयोग प्रदान गर्नुभएकोमा माननीय तीर्थ लामाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि समुदायको ज्ञान, इतिहास, भाषा, संस्कृति र पहिचानको संरक्षणसँगै सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता फाउण्डेशनले व्यक्त गरेको छ।
















