काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार उम्मेदवारी घोषणा गर्दै लामाले जिल्ला सभापतिका रूपमा संगठन निर्माणमा निर्वाह गरेको भूमिका, संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा खेलेको भूमिका तथा बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा प्राप्त अनुभवलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन्।
लामाले आफ्नो राजनीतिक यात्रा, संगठनमा निर्वाह गरेका जिम्मेवारी र सार्वजनिक सेवाको अनुभवका आधारमा केन्द्रीय सदस्यका रूपमा काम गर्ने अवसर प्रदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

राजनीतिक यात्रादेखि जिल्ला नेतृत्वसम्म
वि.सं. २०३० असार ९ गते काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ मा जन्मिएका लामा स्नातक तहसम्म अध्ययन गरेका छन्। निर्माण व्यवसायमा संलग्न उनी शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।
कांग्रेसको संगठनमा उनले वि.सं. २०६४ मा क्षेत्रीय उपसभापतिको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि १२औँ र १३औँ महाधिवेशनमा लगातार दुई कार्यकाल क्षेत्रीय सभापति बने। वि.सं. २०६८ देखि २०७१ सम्म नेपाल तामाङ संघको केन्द्रीय सदस्यका रूपमा समेत काम गरेका थिए।
कांग्रेसको १४औँ महाधिवेशनबाट काभ्रेपलाञ्चोक जिल्ला सभापतिमा निर्वाचित भएका लामा त्यसयता जिल्लामा पार्टी संगठनको नेतृत्व गर्दै आएका छन्।
संविधानसभा सदस्यदेखि मन्त्रीसम्म
वि.सं. २०७० को संविधानसभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट निर्वाचित भएपछि लामा संविधानसभा सदस्य बनेका थिए। संविधानसभा सदस्य रहँदा उनले नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।
वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका लामा वि.सं. २०७९ को प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १(ख) बाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
प्रदेशसभा सदस्य बनेपछि उनले २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए।
केन्द्रीय सदस्यमा उम्मेदवारी
जिल्ला तहदेखि पार्टी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका लामाले अहिले कांग्रेसको केन्द्रीय सदस्यका रूपमा भूमिका निर्वाह गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले आफूले संगठन र सार्वजनिक सेवाका क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने अवसर प्रदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।















